हिमाल वि.क.
तुलसीपुर, दाङ
तुलसीपुर १० माघ २०८२ शनिवार, २०७९ को निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रम र ‘Gen-Z’ आन्दोलनको प्रभावसँगै देश पुनः निर्वाचनको संघारमा उभिएको छ। तत्कालीन अवस्थामा संसद् विघटन भई २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मा सारिएपछि दाङ क्षेत्र नं. ३ मा चुनावी सरगर्मी तीव्र बनेको छ। यसपटकको निर्वाचनको मुख्य विशेषता भनेको सबै दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिनु र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बढ्दो आकर्षण हो।
१. प्रत्यक्षतर्फको चुनावी परिणाम (२०७९ को आधारमा)
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका दीपक गिरीले गठबन्धनको बलमा विजय हासिल गरेका थिए। तर यसपटक सबै दल एक्लै प्रतिस्पर्धा गर्दा २०७९ को मतपरिणाम यस प्रकार रहेको छः
उम्मेदवार / दल — प्राप्त मत
- दीपक गिरी (नेपाली कांग्रेस) — ३६,९११
- कोमल वली (नेकपा एमाले) — २९,०९२
- कमल सुबेदी (राष्ट्रिय स्वतन्त्र पार्टी) — १५,३२६
- राष्ट्रिय प्रजातन्त्र पार्टी — १,५३६
२. समानुपातिक मत : दलहरूको वास्तविक शक्ति
समानुपातिक मतलाई दलहरूको ‘कोर भोट’ का रूपमा हेरिन्छ। यसले उम्मेदवारको व्यक्तिगत प्रभावभन्दा बाहिर पार्टी संगठन कति मजबुत छ भन्ने देखाउँछः
- नेपाली कांग्रेस — २६,५७५
- नेकपा (एमाले) — २६,११७
- राष्ट्रिय स्वतन्त्र पार्टी — १५,४१०
- नेकपा (माओवादी केन्द्र) — १०,९२६
३. अंकगणितीय विश्लेषण : को कति बलियो ?
नेपाली कांग्रेसको चुनौती:
अघिल्लो पटक दीपक गिरीले पाएको ३६,९११ मतमध्ये माओवादी केन्द्रको करिब १०,९२६ मतको ठूलो योगदान थियो। यसपटक कांग्रेस एक्लै लड्न लागेकाले आफ्ना २६,५७५ मत जोगाउँदै थप तटस्थ मत आकर्षित गर्नु मुख्य चुनौती बनेको छ।
नेकपा एमालेको अवस्था:
एमालेको समानुपातिक मत (२६,११७) र प्रत्यक्षमा कोमल वलीले पाएको मत (२९,०९२) बीच ठूलो अन्तर छैन। यसले एमालेको ‘कोर भोट’ स्थिर र बलियो रहेको संकेत गर्छ। सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिनु एमालेका लागि अवसरका रूपमा देखिन्छ।
नेपाल कम्युनिस्ट पार्टी को निर्णायक भूमिका:
पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले २०७९ मा प्रदेशसभा (ख) बाट गठबन्धनको बलमा २२,३६२ मत ल्याएर विजय हासिल गरेका थिए। संघीय निर्वाचनमा उत्रिँदा उनले आफ्नो प्रदेशस्तरीय मतलाई क्षेत्रभर विस्तार गर्नुपर्ने चुनौती छ। माओवादी केन्द्रको १०,९२६ समानुपातिक मत निर्णायक शक्तिका रूपमा रहेको छ। मास्कीको उपस्थितिले कांग्रेस र एमाले दुवैको मत काटिने सम्भावना देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो आकर्षण:
रास्वपाले पहिलो प्रयासमै १५ हजारभन्दा बढी मत ल्याएर आफूलाई बलियो शक्तिका रूपमा स्थापित गरेको छ। समानुपातिकतर्फ १५,४१० मत प्राप्त हुनु यस क्षेत्रमा युवा र नयाँ मतदाताको ठूलो हिस्सा रास्वपातर्फ आकर्षित भएको संकेत हो। पुराना दलप्रतिको असन्तुष्टिका कारण यो मत अझै बढ्न सक्ने सम्भावना छ।
४. कस्तो होला प्रतिस्पर्धा ?
हालको अवस्थालाई हेर्दा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतान्तर निकै झिनो देखिन्छ। तर राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलप्रतिको असन्तुष्ट मत र नयाँ मतदातालाई कति आकर्षित गर्न सक्छ भन्ने कुराले अन्तिम नतिजा निर्णायक रूपमा प्रभावित गर्नेछ। यदि रास्वपाले आफ्नो मत २०–२५ हजारको हाराहारीमा पुर्याउन सफल भयो भने दाङ क्षेत्र नं. ३ मा अनपेक्षित परिणाम देखिन सक्ने सम्भावना उच्च देखिएको छ।
