सल्यान, २५ पुस । सल्यान जिल्लाको दक्षिण भूभागमा पर्ने कालिमाटी गाउँपालिका–७ पर्सेनीमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । घर नजिकै रहेको हरियाली सामुदायिक वनमा घाँस–दाउरा काट्न गएकी ४२ वर्षकी धनसरी
रावतलाई बाघले आक्रमण गरेको थियो । रावत लाई बाघले आक्रमण गरी जंगलतर्फ तानेर लगेको खबर पाएपछि प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा आधा शरीर बाघले खाईसकेको अवश्थामा रावतको शव जंगलमा फेला परेको कुरा जिल्ला प्रहरी
कार्यालय सल्यानले जानकारी दिएको छ । खबर पाएलगत्तै घुइयाबारी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको कमाण्डमा प्रहरी टोली र स्थानीय जंगलमा खोजी गर्न गएका थिए। घटना स्थल घर देखि करिब ५ सय मिटरको दुरीमा पर्दछ । घटनापछी स्थानीयवासीमा त्रास फैलिएको छ भने प्रहरी र सम्बन्धित निकायले आवश्यक अनुसन्धान तथा सुरक्षा सतर्कता बढाएको जनाइएको छ ।
