लमही–भालुबाङ सडकमा अवैध रुख कटानः अध्यक्ष विष्टसहित ८ जना दोषी

पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा जथाभाबी रुख कटान गरेको भन्दै जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट र ३ जना वडा अध्यक्षलाई दोषी ठहर गरेको छ । अदालते ४ जनप्रतिनधिसहित ८ जनालाई दोषी ठहर गरेको हो । अदालतले दुई वर्ष अघिको मुद्दाको सुनवाइ अध्यक्ष विष्ट, ३ जना वडा अध्यक्षसहित ८ जनालाई दोषी ठहर गरेको हो।

जिल्ला न्यायाधीश राजेश्वर अर्यालको एकल इजलासले राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट समेत ९ जनाविरुद्ध ‘बिना इजाजत प्रमाण बेगर सडक क्षेत्राधिकार भित्रको रुख काटी काठ ओसारपसार गरेको’ मुद्दामा फैसला सुनाएको अदालतका सूचना अधिकारी गोकर्ण वलीले जानकारी दिए। अदालतले ९ जनाविरुद्ध दायर भएको रुख काटेर ओसारपसार गरेको मुद्दामा आंशिक अभियोग दाबी पुग्ने फैसला गरेको छ।

सूचना अधिकारी वलीले अदालतले राप्ती गाउँपालिका–४ का वडा अध्यक्ष वीर बहादुर चौधरीलाई १ महिना कैद र १ लाख ४१ हजार २ सय २६ रुपैयाँ बिगो भराउने आदेश भएको बताए।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित १ नम्बर वडा अध्यक्ष गेमे खड्का, ५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी, काठ खरिद गर्ने झविन्द्र भण्डारी, अभियान चौधरी, नन्दु गिरी र केशरबहादुर चौधरीलाई १५–१५ दिनको कैद सजायको फैसला सुनाएको छ।

त्यस्तै तत्कालीन सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवाललाई भने अदालतले सफाइ दिएको छ। २०८० मंसिर १० गते डिभिजन वन कार्यालय लमही, देउखुरीको जाहेरी प्रतिवेदनका आधारमा मुद्दा परेको थियो।

प्रतिक्रिया